‘बायोग्राफी लेख्दा मान्छेलाई हिरो बनाउनैपर्छ भन्ने छैन’
म जस्तोसुकै चरित्र भएको मानिसबारे किताब लेखे पनि उसलाई मानवीकरण गर्ने पूरा कोसिस गर्छु ।
पुलित्जर विजेता अमेरिकी लेखक काइ बर्डसँग पोखरामा गरिएको यो लामो अन्तर्वार्ताका सबैजसो प्रश्न बायोग्राफी विधासँग सम्बन्धित छन् । उनी र मार्टिन शेरविनले सहलेखन गरेको किताबमा आधारित भएर विख्यात हलिउड निर्देशक क्रिस्टोफर नोलनले बनाएको ‘ओपनहाइमर’ सिनेमा यो वर्ष विशेष चर्चामा छ । त्यससँग सम्बन्धित केही प्रश्नलाई छाडेर बर्डसँग बायोग्राफी–वार्ता गर्नुको पछाडि एउटै कारण छ : नेपालमा पनि पछिल्ला वर्ष जीवनी र अटोबायोग्राफी लेखिने क्रम जारी छन् । सम्भवतः अरू थुप्रै बायोग्राफी छापिने क्रममा छन् । बायोग्राफी लेखनमा सिंगो जीवन दिएका ७२ वर्षीय लेखकको अनुभव र विचार यहाँ पस्किएका छौं ।
पोखरामा जारी एघारौं नेपाल लिटरेचर फेस्टिभलका मुख्य आकर्षण बन्न पुगेका काइ बर्डसँग बसन्त बस्नेतले गरेको यो अन्तर्वार्ता :
काइ बर्ड, तपाईंको नाम अमेरिकी जस्तो सुनिंदैन । कसरी रह्यो यो नाम ?
मेरो बुवा युनिभर्सिटी अफ ओरेगनमा पढ्दा एकजना चिनियाँ साथीसँग गहिरो दोस्ती भएछ । उनको नाम शु काई यु थियो । उनी पछि चिनियाँ प्रधानमन्त्री चाउ एन लाईका बायोग्राफर भए । साथीको नामबाट झिकेर छोराको नाम राखिएछ ।
बर्ड चाहिं ?
बुवाको नाम युजेन बर्ड । युजेन बर्डको छोरो काइ बर्ड ।
तपाईंले जीवनीलाई लेखन विधाको रूपमा किन छान्नुभयो ?
लेख्ने थुप्रै विधामध्ये मलाई बायोग्राफी सबैभन्दा रोचक लाग्छ । यसमा कुनै व्यक्तिको जीवनभित्र पसेर इतिहासलाई बताउन पाइन्छ । इतिहास मात्रै पढ्दा कहिलेकाहीं साह्रै अल्छीलाग्दो, एक–रसको हुनसक्छ । तर बायोग्राफी चाहिं हाई क्लास गसिप हो । आखिर मान्छेहरूको स्वभाव नै हो, उनीहरू गफ सुन्न वा गसिप पढ्न मन पराउँछन् ।
उसोभए गसिप पनि जीवनीकै अंग हो भनेर मान्नुपर्यो ?
गसिप पनि अंग हुनसक्छ, यदि त्यो साँचो घटनामा आधारित छ भने । त्यसलाई स्रोतहरूको उल्लेख गरेर, फुटनोटहरू राखेर पुष्टि चाहिं गर्न सक्नुपर्यो । जीवनीकारका लागि यो निकै ठूलो चुनौती हो । उसलाई एकातिर आफ्नो लेखन अल्छीलाग्दो हुनबाट बचाउनुपर्ने चुनौती हुन्छ । अर्कातिर त्यसलाई तथ्यले समृद्ध पनि पार्न सक्नुपर्यो । तथ्यहरूलाई झर्को लाग्दो पारामा राखेर मात्रै पुग्दैन । दुईवटा अप्ठेरा काम एकैपल्ट गर्नुपर्ने हुन्छ । तपाईं आफैं अनुमान गर्नुहोस्, यसका लागि कति धेरै मिहिनेत गर्नुपर्ला !
तपाईं जीवनी लेख्नका लागि पात्र कसरी छान्नुहुन्छ ?
हरेक जीवनीकारका आ–आफ्नै प्राथमिकता र शैली हुन्छन् । हरेक लेखकले एकै किसिमका पात्र छान्छन् भन्ने छैन । पहिलो पुस्तकमै मैले म्याक जर्ज बन्डीलाई बायोग्राफी लेख्नका लागि पात्र छानेको थिएँ । उनी राष्ट्रपति जोन एफ केनेडीका राष्ट्रिय सुरक्षा सल्लाहकार थिए । अर्का राष्ट्रपति लिन्डन जोन्सनका पनि प्रमुख सल्लाहकार भएर उनले काम गरे । उनका सल्लाहहरू निकै विवादित पनि हुनपुगे । मेरा लागि सबैभन्दा ठूलो उत्सुकताको विषय थियो– एकदमै स्मार्ट, बौद्धिक, उदार अनि हार्वर्ड विश्वविद्यालयका पूर्व डीन भइसकेका तीक्ष्ण मानिस नै कसरी अमेरिकालाई अन्त्यहीन युद्धतर्फ लैजान उत्प्रेरित गर्ने पात्र हुनपुगे ? किनभने भियतनाम युद्ध हुँदा बेला उनले नै केनेडीलाई गलत निर्णयतर्फ धकेलिन सल्लाह दिने गरेका थिए । वास्तवमा उनले निकै ठूलो गल्ती गरेका थिए । यो किताब लेख्ने बेला म युवा थिएँ । मैले यसबारे बायोग्राफी लेख्ने विचार गरें । विषयप्रतिको जिज्ञासा अत्यन्त सघन थियो । त्यसैले मैले पाँच वर्ष लगाएँ ।
जीवनी लेखन भनेको त थकाइ मार्नै नपाइने काम पो रहेछ !
म अरू विधा लेख्न सक्दिनँ । त्यसैले मेरा लागि मरुन्जेल जीवनी लेखनमा खट्नुको विकल्प छैन ।
तपाईंले ओपनहाइमर फिल्मको मूल कथा अमेरिकन प्रमेथियस लेखेर विश्वप्रसिद्ध पुरस्कार पुलित्जर नै पाउनुभयो । यो १८ वर्षअघिको कुरा थियो । तर सिनेमाले दिने सफलता चाहिं पुरस्कारको भन्दा पनि ठूलो बन्न पुगेको हो ? किनभने अहिले आएर तपाईंको किताब बजारहरूमा पाउन मुश्किल छ । जहाँ गए पनि बिकिसक्यो भन्छन् !
किनभने ओपनहाइमर फिल्म उच्चकोटिको बनेको छ । क्रिस्टोफर नोलन विलक्षण प्रतिभा भएका निर्देशक हुन् भन्ने कुरा त यसअघि उनले बनाएका विभिन्न सिनेमाले नै पुष्टि गरिसकेका छन् । तैपनि आफ्नो किताबमा सिनेमा बन्दा कस्तो हुने होला भन्ने चिन्ता मलाई वास्तवमै थियो । तीन घन्टा लामो सिनेमाले ओपनहाइमरको व्यक्तित्व जीवन्त ढंगले क्याप्चर गरेको छ । उनको प्रेम जीवन, उनको राजनीति जस्ता विभिन्न कुरालाई मेरो किताबले मसिनो गरी चित्रण गरेको थियो ।
जीवनी भए पनि उनको जीवनभित्रको नाटकीयता, संवादहरू धेरैभन्दा धेरै उद्धृत थिए किताबमा । कुन कुन लाइन जस्ताको तस्तै किताबबाट सिनेमामा परेका छन् भनेर म सबै एक–एक भनिदिनँ सक्छु । यसरी मोटो किताबबाट संवाद र प्रसंगहरू सिनेमामा मज्जाले रूपान्तरण सक्नु डाइरेक्टरको साँचो खुबी हो ।
निर्देशक नोलानले सिनेमाको कथानकमा इतिहासलाई जस्ताको तस्तै ल्याए भन्ने त म मान्दिनँ । सिनेमामा केही बढाइचढाइँ हुन्छ नै । जस्तो कि ओपनहाइमर र आइन्स्टाइनका बीचमा कतिपय काल्पनिक संवादहरू छन् ।
सिनेमाले किताबलाई गलत चित्रण गर्ने खतरा कत्तिको हुँदोरहेछ ?
त्यो काम त हलिउडमा सधैं हुन्छ (हाँसो) । तपाईंआफैं ख्याल गर्नुस् त । कति उपन्यास वा कथाको गलत चित्रण भइसकेको छ ! मेरो एउटा एकदमै मिल्ने लेखक साथी छ । उसले लेखेको उपन्यासमा सिनेमा बन्यो । उपन्यास एकातिर छ, सिनेमा अर्कैतिर । सिनेमा हेरिसक्दा ‘लौ, मैले यस्तो पनि लेखेको थिएँ र किताबमा’ भनी छक्क पर्ने अवस्था थियो मेरो साथीको ।
त्यो त विधा परिवर्तन गर्दा केही तल–माथि त भइहाल्छ नि, होइन ? किताबै पर्दामा उतार्न खोज्यो भने न किताबलाई न्याय होला, न सिनेमालाई ! के भन्नुहुन्छ ?
मैले किताब सिनेमामा जस्ताको तस्तै आउनुपर्छ भन्न खोजेको पनि होइन । तर हलिउडका पटकथा लेखकहरूको पारा चाहिं कस्तो छ भने त्यसभित्र किताबको छायाँचित्र चाहिं कहाँनेर आयो त भनेर टाउको समाउनुपर्ने अवस्था छ । यो त राम्रो अभ्यास भएन । यो फेरि एक–दुई पटकथाकारले गरेको होइन, धेरैले गरेका छन् । यो एक किसिमले हलिउडभित्रको संस्कृति जस्तै भइसकेको छ । यस्तो गर्नु गलत हो ।
तपाईंलाई पनि बढाइचढाइँ भएको हो कि भन्ने चाहिं परेकै होला !
त्यसरी नभन्नुस् । म निकै भाग्यमानी बायोग्राफर हुँ । क्रिस्टोफर नोलनले मेरो किताबलाई पूरा इमानदारीसाथ सिनेमा बनाएका छन् ।
आफूले लेखेको किताबमा बनेको ओपनहाइमर पहिलोचोटि फिल्म पर्दामा हेर्दाको अनुभूति सुनाउनुहोस् न !
निर्देशक क्रिस्टोफर नोलनले फिल्म हेर्न मलाई हलिउड बोलाए । म त्यहाँ पुगेको भोलिपल्ट बिहान १० बजे नोलनले कारमा राखेर मलाई हलमा लगे । पूरै खाली हलको सबैभन्दा बीचको कुर्सीमा बसाए । त्यो सिट उनलाई सबैभन्दा मन पर्ने रहेछ । हामीले हलमा गएर हेर्ने पर्दाभन्दा धेरै ठूलो आइम्याक्स । पूरै अँध्यारो, पूरै खाली कोठामा जम्मा तीन जना थियौं– नोलन, उनकी पत्नी एम्मा र म । सिनेमा सुरु गरेपछि उनी पत्नीसँग पछाडिको सिटतिर गए । अब म एक्लै भएँ । उनले मलाई शो हेर्नका लागि प्राइभेसी दिए । आम्मामा, त्यो मेरा लागि पूरापूर मुभिङ एक्सपिरियन्स थियो ।
लेखकलाई आफ्नो किताबमा बनेको सिनेमा कस्तो लाग्यो त ?
किताबसँग अधिक मिल्ने गरी रूपान्तरण गरिएको छ । तर सिनेमाले दिने इमोशनको अर्कै अर्थ छ । त्यहाँ कहीं पूरा रंगीन, कहीं पूरा श्याम–श्वेत खिचिएको थियो । ओपनहाइमरको भाव अनि वरिपरिको अवस्था बुझाउन धेरै अर्थपूर्ण रंगहरू प्रयोग गरिएका थिए । इमेजहरू पनि त्यस्तै ल्याइएका थिए, जसले दर्शकमा इमोशन पैदा गर्छ । मैले मार्टी र आफूले किताब लेख्ने बेला कल्पना गरेका दृश्यहरू सम्झें । अनि फिल्ममा देखाएका चित्र पनि याद गरें । कति लाइन, अनुच्छेदहरू फिल्ममा पनि ल्याइएका छन् ।
हरेक राम्रोभित्र खराब मान्छे हुन सक्छ । हरेक खराब मान्छेभित्र राम्रो मान्छे पनि । जीवनीकारले यो सत्यलाई राम्रोसँग आत्मसात् गर्न सक्नुपर्छ ।
हेरिसकेपछि निर्देशक र लेखकबीच कस्तो कुरा भएको थियो ?
सिनेमा सकिएपछि उनी म बसेको सिटमा आए । मैले उठेर उनलाई निकैबेर अँगालो मारें । र, कानमा फुसफुसाएँ, ‘इट्स रियल्ली ब्रिलियन्ट ।’ खासमा मलाई पनि आफ्नो किताबबारे डर थियो । किनभने मैले राम्रा किताबमा बनेका झुर सिनेमा हेरिसकेको थिएँ । तर निर्देशकसँग कूटनीतिक भाषा प्रयोग गरिराख्नुपर्ने कुनै जरूरी थिएन । मैले उनको काफी प्रशंसा गरें । आफूलाई लागेका कुरा पनि सुनाएँ । उनकी पत्नी एम्मालाई भनें : लेखकहरूलाई आफ्नो सिनेमाबारे हुने आशंका अब मलाई रहेन । मैले नोलनको काम भर्खरै हेरें । यो स्पेशल सिनेमा हो ।
संसारभरिका दर्शकले यति अप्ठेरो विषय र व्यक्तिबारे बनाएको सिनेमा समेत असाध्यै मन पराइसकेका छन् । ओपनहाइमर; जो नेपाल, भारत, चीनतिर खासै चिनिएका व्यक्ति होइनन् । मैले यता समेत त्यो सिनेमा अत्यधिक हेरियो भन्ने थाहा पाएँ । कतिपय सिनेमाले संवेगात्मक कुराहरूलाई किताबकै बराबर ल्याउन सक्दैनन् । कतिपय किताबले सिनेमाको इमोशन क्यारी नगर्न पनि सक्छन् । अलग विधा भएर पनि ओपनहाइमर व्यक्तिमा गज्जबले काम भयो । ७०० पेजको किताबमा तीन घन्टाको मुभी । गज्जबै हो !
उनको सिनेमाबारे तपाईंका सुझाव, परिमार्जनहरू थिए ?
थिएनन् । त्यो निर्देशकको क्षेत्र हो, जहाँ म प्रवेश गर्ने होइन । तर स्क्रिन प्ले चाहिं नोलनले मलाई सिनेमा सुटिङ गर्नु पहिल्यै देखाएका थिए । त्यसमा केही इतिहासका तथ्यगत सामान्य त्रुटि थिए । त्यसमा चाहिं मैले सुझाव दिएको थिएँ । उनले सच्याए पनि ।
जापानमा भने ओपनहाइमरको प्रदर्शन विवादित भयो । अब बल्ल मात्रै उनीहरू प्रदर्शन गर्न लाग्दैछन् । तपाईंको भनाइ के छ ?
म विषयको गम्भीरता बुझ्न सक्छु । किनभने ओपनहाइमरले आविष्कार गरेको बमले हिरोशिमा र नागासाकीमा ठूलो ध्वंश गर्यो । आफूहरूमाथि टार्गेट गरिएको बम बनाउने व्यक्तिबारे फिल्म बन्दा त्यहाँका नागरिकको मनमा केही न केही पर्ने नै भयो । त्यसको ट्रमा जापानमा अझै पनि छ । तर अहिले त्यो जापानी हलहरूमा प्रदर्शन हुन लाग्दैरहेछ । जापानी दर्शकले पनि इतिहासको कथा मानेर त्यसलाई हेर्ने नै छन् ।
तपाईंले अब लेख्दै गरेको किताबको नाम लिटरेचर फेस्टिभलमा सुन्दा म हाँसेको थिएँ । अमेरिकन स्काउन्ड्रेल (अमेरिकाको फटाहा) होइन त ?
हो हो, फटाहाको जीवनी लेख्न खोजेको हो ।
नेपाली भाषामा लेखिएका थुप्रै बायोग्राफी पढेको अनुभव सहित तपाईंलाई मेरो प्रश्न छ, जो व्यक्तिका बारेमा जीवनी लेखिंदैछ, उसैलाई नकारात्मक चित्रण गर्दा तपाईं कत्तिको होसियारीसाथ गर्नुहुन्छ ? अनि तपाईं आइपर्ने सम्भावित खतरासँग कत्तिको डराउनुहुन्छ ?
तपाईंले पढेका नेपाली किताबबारे त मलाई थाहा छैन । तर म तपाईंलाई एउटा कुरा बताउँछु– म जस्तोसुकै चरित्र भएको मानिसबारे किताब लेखे पनि उसलाई मानवीकरण गर्ने पूरा कोसिस गर्छु । त्यसका लागि म टन्नै उदाहरणहरू भेला पार्छु । अहिले त्यो अमेरिकी फटाहाको त धेरै कुरा नगरुँ, तर मैले ओपनहाइमरलाई समेत पूरा नायक बनाएर लेखेको छैन । उनलाई मैले गुण र दोष दुवै भएको फ्रजाइल मानिसका रूपमा चित्रण गरेको छु । बायोग्राफी लेखियो भन्दैमा मान्छेलाई हिरो बनाउनैपर्छ भन्ने छैन । समाजमा नै नभएको हिरो जबर्जस्ती किताबमा खोजेर हुँदैन । एउटा व्यक्तिका बारेमा लेख्दै गर्दा उसको बारेमा मात्रै खरर्र लेखेर पुग्दैन । बरु उसको समय र समाजका मानिसहरूको बारेमा एकदमै वास्तविक कुरा भन्न सक्नुपर्छ ।
समाजका लागि हिरो बन्ने क्षमतै छैन भने त्यसको बायोग्राफी किन लेखिरहने ?
होइन, होइन । त्यसो होइन । जस्तो कि मेरो नयाँ किताब रोय कोनबारे छ । अघिल्लो प्रश्नमा तपाईंलाई मैले भन्न खोजेको अमेरिकी फटाहा त्यही मान्छे हो । त्यो फटाहा मात्रै होइन, दुष्ट नै हो । तर यति मात्रै भनेर पनि हुँदैन । उसका कति धेरै राम्रा पक्षहरू पनि थिए । हरेक राम्रोभित्र खराब मान्छे हुन सक्छ । हरेक खराब मान्छेभित्र राम्रो मान्छे पनि । जीवनीकारले यो सत्यलाई राम्रोसँग आत्मसात् गर्न सक्नुपर्छ । किनभने रोय कोनले अरू मान्छेहरूलाई सताउने गरे पनि आफ्ना साथीभाइप्रति ऊ असाध्यै वफादार थियो ।
कसैको जीवनी लेख्नलाई तपाईं कसरी अनुमति प्राप्त गर्नुहुन्छ ? खासगरी नकारात्मक पात्रका बारेमा लेख्नका लागि कसरी मनाउनुहुन्छ ? बाँचेको छ भने उसैलाई, वा मरिसक्यो भने उसको परिवारसँग तपाईं कसरी स्वीकृति लिनुहुन्छ ?
जीवनी लेख्नलाई कसैको अनुमति लिनुपर्दैन । यसमा कुनै भ्रम नरहोस् । मैले तपाईंका बारेमा छताछुल्ल पारेर लेख्न चाहें भने तपाईंलाई अनुमतिका लागि सोध्न आउने छैन ।
मैले त्यसरी लेख्न दिइनँ भने ?
अहँ, तपाईंले मलाई कुनै पनि हालतमा रोक्न सक्नुहुन्न (हाँसो) । आखिर म तपाईंका परिवार, साथीभाइ, नातागोता, प्रतिस्पर्धी, अग्रज, जुनियरहरूलाई अन्तर्वार्ता गरेरै छाड्छु । तपाईं उनीहरू सबैलाई रोक्न सक्नुहुन्छ र ? केही पाइनँ भने पनि म तपाईंको जन्मदर्ता प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाण, अखबारमा छापिएका लेख र समाचारहरू, अन्तर्वार्ताहरू सबै खोतल्छु ।
धम्क्यायो भने ?
पहिला धम्क्याउन त दिनुहोस् (हाँसो) । मैले द चेयरम्यान ः जोन जे मेक्लोय एन्ड द मेकिङ अफ द अमेरिकन स्ट्याब्लिसमेन्ट भन्ने किताब लेखेको छु । उनी वालस्ट्रिटका शक्तिशाली वकिल हुन् । अहिले पनि बाँचेकै छन् ।
तिनले धम्क्याए ?
धम्की नै त दिएनन्, तर तिनले प्रशस्तै डिस्टर्ब गरे । त्यसैले किताब लेखिसक्न पनि १० वर्ष लाग्यो । जीवनमा पहिलोचोटि लेखेको किताबमै नचाहिंदो अलमल भयो । बरु मरेको पात्र भए फटाफट अघि बढिन्थ्यो होला, जिउँदो पात्र रोज्ने हुँदा दुःख पाइयो (हाँसो) ।
नेपालमा त सबैजसो बायोग्राफीमा व्यक्तिका असल गुणहरू मात्रै लेखिएका छन् !
बायोग्राफीमा कि अटोबायोग्राफीमा ?
दुवैमा भनौं न ।
उसोभए ती सबै ‘बोरिङ स्टोरी’ होलान् (लामो हाँसो) । लेख्दा सत्यको पक्ष नलिनु भनेको अन्याय हो । आत्मकथा वा संस्मरणमा त झन् बढ्ता सावधान हुनुपर्छ । मैले एउटा मेमोयर (संस्मरण) लेखेको छु, जहाँ मेरा गलत निर्णय, गलत सोचाइहरूको बारेमा लेखिएको छ । म जीवनमा कुन बेला र कहाँनेर गलत थिएँ भन्ने कुरा नचपाई भनिएको छ । मैले त्यसरी लेखेको हुनाले नै त्यो बोरिङ स्टोरी हुनबाट बच्यो । खासमा त्यो स्टोरी नै जीवन्त र रोचक हुनपुग्यो ।
सबै त नभनुँ, तर यसरी असल कुरा मात्रै लेख्नेमध्ये कतिपय नेता र प्रशासकहरू छन् । तिनले आफ्ना गल्तीबारे लेखे भने त जेल गइहाल्छन् नि ? तपाईंलाई जस्तो सजिलो छ र तिनलाई ?
त्यो म अनुमान गर्न सक्छु । राजनीति गर्नेहरूलाई सजिलो छैन । अमेरिकामा पनि कथामा लिपपोत गर्ने चलन नभएको होइन । आफू कति खतरा मान्छे हुँ वा थिएँ भन्नलाई तिनले धेरै पानाहरू सत्यानाश पारेका छन् । तर म फेरि पनि भन्छु ः त्यो बोरिङ स्टोरी हो । बोरिङ स्टोरी बाहेक अरू केही पनि होइन । आफू चाहिं राम्रो, अरू चाहिं बेकार । यति भन्नलाई सीधै एक लाइनमा घोषणा गरे भइहाल्यो नि ! किन कागज र मसी सक्नु !
जीवनी लेख्नका लागि तपाईं कुन प्रकारको तयारी गर्नुहुन्छ ? सुरुमा के गर्नुहुन्छ ?
जीवनी लेख्नुअघि त्यहाँभित्रका सामग्रीबारे धेरैपल्ट र धेरै कोणबाट तथ्य जाँच गरिएको हुन्छ । लेखिएका सामग्री कुन स्रोतमा आधारित थिए भनी प्रष्ट खुलाइएको हुन्छ । त्यहाँ कल्पनाका लागि कुनै ठाउँ हुँदैन
सबैभन्दा पहिले म अभिलेखहरू चहार्छु । जेसुकै भेटे पनि खोजेर पढ्न थाल्छु । चिठीपत्र, डायरी अनि किताबलाई सहायता गर्ने ओरिजिनल सामग्रीहरू खोज्छु । मैले अघि भनेको जोन मेक्लोयको किताब लेख्ने बेला कतिसम्म गरेको थिएँ भने ऊ आफ्ना बारेमा, समाजका बारेमा के ठान्छ भनेर पत्ता लगाउनका लागि उसले पढेको कलेजमा गएर उसले आन्तरिक म्यागजिनहरूमा लेखेका लेख, प्रोफेसरलाई बुझाएका पेपर, अरू लिखित उत्तरपुस्तिका लगायत सामग्री सबै छान मारेर पढेको थिएँ । उसले पछि गएर अखबारमा लेखेका सामग्रीहरूभन्दा पनि बढी महत्वपूर्ण सामग्री मेरा लागि ती थिए । त्यसपछि अन्तर्वार्ताहरू खोजें । पूरै जासूस जस्तो बनेर भित्रभित्रै काम गरें । दुई वर्षजति रिसर्चमै बित्यो । त्यतिन्जेलसम्म मैले पाण्डुलिपि राम्रोसँग लेख्नै थालेको थिइनँ ।
दुई वर्षपछि मात्रै लेख्न थाल्नुभयो ?
कहाँ थाल्नु ! दुई वर्ष रिसर्च गरेपछि पो मलाई बल्ल थाहा भयो, म जसका बारेमा बायोग्राफी लेख्न गइरहेको छु, उसका बारेमा मलाई केही थाहा रहेनछ । कल्पना गर्नुहोस् त, त्यसपछि मैले झन् कति धेरै रिसर्च गरे हुँला !
पात्र बाँचेको रहेछ भने सुरुमा अनुमति नलिए पनि जीवनी लेखिसकेपछि त उसलाई देखाउनुहुन्छ होला नि ?
कहिल्यै पनि देखाउँदिन । किन देखाउने ? त्यो मेरो स्टोरी हो, उसका बारेमा लेखिएको भए पनि । म के लेख्छु भन्ने कुरामा अरूको अधिकार हुँदैन ।
किताब निस्किसकेपछि त्यो जीवित पात्रले जीवनीकारलाई चुनौती दियो भने ?
गर्न दिनुहोस् न त । के जान्छ तपाईंको ? साह्रै सोधेको सोध्यै गरे भने प्रकाशकलाई चिठी लेख्न लगाउनुहोस् । सम्पादकसँग गुनासो गर्न लगाउनुहोस् । किनभने जीवनी लेख्नुअघि त्यहाँभित्रका सामग्रीबारे धेरैपल्ट र धेरै कोणबाट तथ्य जाँच गरिएको हुन्छ । लेखिएका सामग्री कुन स्रोतमा आधारित थिए भनी प्रष्ट खुलाइएको हुन्छ । त्यहाँ कल्पनाका लागि कुनै ठाउँ हुँदैन । यस काममा लेखक मात्रै होइन, सम्पादक पनि मसिनो गरी संलग्न भएको हुन्छ । प्रकाशकले त्यसलाई संस्थागत रूप दिन्छ । अति नै गर्न लागे भने अदालत जाऊ भन्दिनुहोस् । मानहानि मुद्दा लगाए पनि भयो, अरू काम गरे पनि भयो । तर झुट हो भनी प्रमाणित चाहिं गर्न सक्नुपर्यो ।
तपाईंले तथ्य परीक्षण गरेकै कुरा पनि किताब निस्केको पाँच–सात वर्षपछि आफैं गलत निस्कियो भने त आत्मस्वीकार गर्नैपर्यो होला नि ? वा स्टोरीको अर्को साइड पनि रहेछ भनी थाहा लाग्यो भने त्यसबेला के गर्ने ?
अँ, (केही बेर रोकिएर) त्यस्तो कहिलेकाहीं हुन पनि सक्छ । त्यसै कारणले त हो नि, एउटै व्यक्तिका बारेमा अनेकौं जीवनीका पुस्तकहरू छापिने गरेको । एउटा व्यक्तिका बारेमा एउटै किताब मात्रै लेखिनुपर्छ भन्ने ठान्नुहुँदैन । प्रत्येक बायोग्राफरसँग भिन्न दृष्टिकोण हुनसक्छन् । उसका इन्ट्रेस्टहरू पनि भिन्नाभिन्नै हुनसक्छ । जस्तो कि अब्राहम लिंकनका जीवनीहरू सम्झनुहोस् । हजार जीवनी लेखिएका होलान् तिनका बारेमा ।
तपाईंले गल्ती गर्नुभयो भने चाहिं ?
यदि मैले गल्ती गरें भने अर्को संस्करणमा सच्याउने प्रयास गर्छु । किनभने ८०० पृष्ठको मोटो किताबमा जहिले पनि केही न केही त्रुटि भइरहेकै हुन्छ ।
भित्रको पानामा खुसुक्क सच्याएर मात्रै नपुग्ला, कतिपय गल्तीका बारेमा त सार्वजनिक रूपमै स्वीकार पनि गर्नुपर्ला नि ! जवाफदेही हुनुपर्यो, होइन ?
अँ, पर्यो । त्यस्तो अवस्था आएछ भने जवाफदेही हुनुपर्छ ।
हामी अर्को व्यक्तिकै जीवन बाँच्न त सक्दैनौं । मैले जतिसुकै मिहिनेत गरे पनि रोबर्ट ओपनहाइमरको मस्तिष्कभित्र प्रवेश गर्नचाहिं सक्दिनँ ।
तपाईं त यति धेरै मिहिनेत गरेर तथ्य लेख्नुहुँदोरहेछ । नेपालमा जीवनी वा इतिहास लेख्दाखेरि अचम्मका मिथकहरू पनि छन्, जसलाई समेत इतिहासमा पढाउने गरिन्छ । जस्तो कि यहाँ मञ्जुश्री भने एकजना पुराना पात्र छन्, जसले काठमाडौंको दक्षिणमा रहेको चोभार पहाड तरबारले काटेर उपत्यकाको पानी बाहिर पठाए भन्ने कथा छ । त्यो पनि इतिहास अध्ययनकै अंग बन्न पुगेको छ । यस्तो अवस्था पनि आइपर्न सक्छ बायोग्राफी वा इतिहासका सामग्री लेख्दा ?
मिथक कथाहरूका आफ्नै प्रयोजन र उद्देश्यहरू हुन्छन् । प्राचीन समयको कथा भन्नलाई त्यसको काम पनि आउँछ । मान्छे अनौठो प्रकृृतिको प्राणी हो, जसलाई आफू वरिपरिको संसार बुझ्नका लागि कथाको सहारा चाहिन्छ । मिथिकल कथाहरू सुन्दा कतिपय अतार्किक जस्तो सुनिए पनि तिनको आफ्नै प्रयोजन हुन्छ ।
तपाईंले व्यक्तिको जीवनी लेख्दा त्यस्ता मिथकहरू पनि सन्दर्भमा आए भने प्रयोग गर्नुहुन्छ ?
मचाहिं वास्तविक तथ्यमै जाने गर्छु ।
तपाईंलाई मन पर्ने जीवनीकारहरू को हो हुन् ?
रोबर्ट क्यारो । अमेरिकी पूर्वराष्ट्रपति लिन्डन जोन्सनका बारेमा पाँच भाग किताब लेख्ने जीवनीकार हुन् । चार भाग लेख्न ४० वर्ष लगाए । अहिले पाँचौं भाग लेख्दैछन् ।
अर्का जीवनीकार जर्ज प्याकरले आवर म्यान : रिचर्ड हलब्रुक एन्ड द इन्ड अफ द सेन्चुरी किताब लेखेका छन् । हलब्रुक अमेरिकाको स्टेट डिपार्टमेन्टका उपल्लो तहका अधिकारी थिए । यसमा पनि प्रशस्तै डायरी, नोट, चिठी, रेकर्डहरू प्रयोेग गरिएको छ । सन् १९६० पछि अमेरिकाको विदेश नीतिमा कसरी महत्वपूर्ण परिवर्तनहरू आए भनेर बुझ्न यो किताब असाध्यै उपयोगी छ ।
यसबाहेक कतिपय जीवनीहरू कतिपय लेखक, उपन्यासकारहरूका बारेमा लेखिएका छन् । त्यस्ता किताब निकै महत्वपूर्ण छन् ।
एउटा चिन्ता चाहिं– जीवनी लेख्ने मान्छेले जीवन बाँचेको मान्छेकै बराबर मिहिनेत गर्न थाले त एकपल्ट पाएको जीवन नै त्यसैमा बित्ने रहेछ ! यति धेरै अथक् परिश्रम गर्ने लगनशीलता कसरी जुटाउने ?
हामी अर्को व्यक्तिकै जीवन बाँच्न त सक्दैनौं । मैले जतिसुकै मिहिनेत गरे पनि रोबर्ट ओपनहाइमरको मस्तिष्कभित्र प्रवेश गर्नचाहिं सक्दिनँ । मैले लेखिएका सामग्री, रेकर्डहरू, साथीभाइ, सम्बन्धित पात्रहरूलाई नै पछ्याउने हो । अन्तर्वार्ता हेर्ने, सुन्ने हो । पढ्ने हो । फेरि पढ्ने हो ।
व्यक्तिगत जीवन नबाँचे पनि उसको विधागत विशिष्टतालाई त चिन्नैपर्यो होइन ? जस्तो कि ओपनहाइमर वैज्ञानिक भएकाले गर्दा तपाईं जीवनी लेखकका रूपमा विज्ञानको अध्ययन कुन हदसम्म हुन जरूरी छ भन्ने ठान्नुहुन्छ ? किनभने यो त अप्ठेरो विधा हो !
मलाई विज्ञानमा रुचि छ, तर म वैज्ञानिक होइन । क्वान्टम फिजिसिस्ट पनि होइन । अमेरिकी भौतिकशास्त्री रिचर्ड फाइनम्यानले एकपल्ट भनेका थिए ः ‘क्वान्टम फिजिक्स इज द साइन्स अफ द एब्सर्ड । इट साउन्ड्स क्रेजी । बट् एक्चुअल्ली इट वर्क्स ।’ उनले भने जस्तै यसले इलेक्ट्रोन, एटम, युनिभर्सको व्याख्या गर्छ । रुचि लगाएर पढ्नुपर्छ । मैले कलेजमा हुँदा एउटा कोर्स गरेको थिएँ : फिजिक्स फर पोयट्स (हाँसो) ।
फिजिक्स फर पोयट्स ? भन्नाले कविहरूका लागि भौतिकशास्त्र ?
अँ । म मिनेसोटाको कल्र्टनन कलेजमा पढ्थें । त्यहाँ मैले चार वर्ष पढेको हो । यो फन्नी कोर्स थियो । बेरी क्यास्पर प्रोफेसरले मलाई यो कोर्स पढाए ।
तपाईं न त भौतिकशास्त्री, न त कवि । किन फिजिक्स फर पोयट्स पढ्नुभएको ?
किनभने यो कोर्स वैज्ञानिकहरूका लागि थिएन । इतिहास, कविता, साहित्य, उपन्यास मन पराउने विद्यार्थीलाई भौतिकशास्त्रका आधारभूत कुरा पढाउनका लागि कलेजले यस्तो कोर्स बनाएको थियो । मलाई इतिहासमा भयंकर रुचि थियो । साहित्य म नलेखे पनि पढ्थें ।
कुनै दिन वैज्ञानिकको बायोग्राफी लेखुँला भन्ने सोचाइ पो थियो कि ?
थिएन, थिएन । यत्तिकै पढेको हो । त्यस बेलासम्म ओपनहाइमरको किताब लेख्ने कुनै योजना थिएन । विज्ञानले वर्तमान विश्वको जटिलता बारेमा धेरै कुराहरू बताउँछ । म जान्न चाहन्थें ः अणु बमका पिताले किन शहर नै ध्वस्त बनाउन सक्ने यस्तो भयंकर ग्याजेट बनाउने बारे सोचे । बीसौं शताब्दी र एक्काइसौं शताब्दीलाई बुझ्न विज्ञानका बारेमा धेरै कुरा बुझ्नैपर्छ ।
तपाईंले संसारका थुप्रै शक्तिशालीहरूलाई आफ्नो किताबमा समेटिसक्नुभएको छ । तपाईंलाई शक्तिशाली मात्रै होइन, एकदमै साधारण व्यक्तिहरूको पनि बायोग्राफी हुनसक्छ भन्ने लाग्छ कि लाग्दैन ? लेखियो नै भने पनि त्यो शक्तिशाली झैं धेरै महत्व दिएर लामो किताब हुनसक्छ भन्ने ठान्नुहुन्छ ?
हुनसक्छ नि ! बायोग्राफरले रुचि दिएर कुनै सामान्य पसलेलाई सुन्न सक्छ । गल्ली सफाइ गर्ने व्यक्ति, शिक्षक, चौकीदार वा जो–कोही । समाजमा धेरै शक्ति अभ्यास नगर्ने खालका मान्छे पनि उसको रुचिमा पर्न सक्छन् । मैले शक्तिशाली वकिल, सल्लाहकार, नेता, वैज्ञानिक, जासुसका बारेमा लेखें । जिम्मी कार्टरको किताब लेख्ने क्रममा उनीसँग दशौंपल्ट लामा–लामा कुरा गरें । तर सामान्य मान्छेहरूलाई पनि उनीहरूको केही न केही विशेष क्षमता वा विशिष्टता भएकै आधारमा किताबसम्म पुर्याउने हो । अति सामान्य कथा छ भने सिंगै किताब नै नहोला । तर पाठकलाई रुचि हुनसक्ने केही न केही पक्ष बायोग्राफरले फेला पार्न सक्यो भने राम्रो ।
तपाईंको हकमा चाहिं कस्ता पात्रले बढ्ता छुन्छन् ?
मैले सधैं नै इतिहासका महत्वपूर्ण पात्र खोजें । राजनीतिक पात्रहरू त्यसमा बढ्ता परे । मध्यपूर्वमा म हुर्किंदै गर्दा त्यस वरपर के भइरहेको छ भन्नेमा ध्यान हुनेगर्थ्यो । इजरायल, प्यालेस्टाइनका बारेमा पनि टन्नै पढियो । त्यसले किताब पनि लेखायो । अन्य बेलामा पनि यसरी नै छान्दै गइयो ।
पूर्वराष्ट्रपति जिम्मी कार्टरको किताब लेख्ने क्रममा अरू संकलनहरू पढ्ने बाहेक उनीसँगको अनुभव कस्तो रह्यो ?
आफूले गर्नुपर्ने स्वतन्त्र अनुसन्धानका अतिरिक्त म उनको एटलान्टाको घरैमा जाने गर्थें । उनीसँग सोसलाइज पनि भएको छु, जसका कारण अरू व्यक्तिसँगको उनको सम्बन्ध, उनको रेस्पोन्स आदिबारे बुझ्न पाइन्थ्यो । यो क्रम ६ वर्षसम्म चल्यो ।
सँगै यात्रा पनि गर्नुभयो ?
खासै गरिनँ । विमानमा केहीपल्ट सँगै उडेँ । त्यहाँ पनि अन्तर्वार्ता गरें ।
जिम्मी कार्टरसँग तपाईंका सबैभन्दा ठूला जिज्ञासाहरू के थिए ?
किन उनले एकपल्ट मात्रै राष्ट्रपति चुनाव जित्न सके ! के कारणहरूले गर्दा उनले दोहोर्याएर चुनाव जित्न सकेनन् ! चुनावको नतिजालाई प्रभाव पार्ने फ्याक्टरहरू के थिए ! मूलरूपमा यिनै ।
लेखन, पुनर्लेखन, सम्पादन आदिमा कति समय लगाउनुहुन्छ ?
मेरो पहिलो किताबलाई १० वर्ष लाग्यो । जबकि म पूर्णकालीन रूपमा त्यसमा काम गरें । किताब लेख्न थाल्दा ३१ वर्षको थिएँ । लेखिसक्दा ४१ वर्ष । अब आउन लागेको मेरो किताबलाई पनि ७ वर्ष लागिसक्यो । ओपनहाइमरलाई मेरो तर्फबाट पाँच वर्ष गयो । मार्टी (मार्टिन शेरविन) ले २० वर्ष लगाइसकेका थिए । जिम्मीको किताबलाई ६ वर्ष । यसरी नै जाँदो रहेछ समय । समय मात्रै होइन, पैसा जान्छ । ऊर्जा जान्छ ।
आफ्नो पैसा पनि खर्च गर्नुहुन्छ ?
प्रकाशकबाट एड्भान्स लिन्छु । तिनले थोरै–थोरै खटाएर दिन्छन् । किताबको गति बढ्दै गएपछि बेलाबखत अरू एड्भान्स पनि पाइन्छ । बायोग्राफी लेखन निकै खर्चिलो छ । अनेक ठाउँमा पुगेर अर्काइभ चहार्नुपर्यो । यात्रा पनि प्रशस्तै गर्नुपर्ने हुनसक्छ । आर्थिक हिसाबले पनि यो सजिलो छैन । तर गर्नुपर्छ ।
सधैं राजनीति वा ठूला भनिएका विषयमा लेख्नुपर्दैन । संस्कृति, समाजका बारेमा अझै धेरै लेखियोस्, पढियोस् पनि । तर तपाईंहरू लेखाइएका जीवनीतिर नलाग्नुहोस् ।
तपाईं एकपल्टमा एउटै किताब लेख्नुहुन्छ कि समानान्तर रूपमा अरू किताबमा पनि हात हाल्नुहुन्छ ?
अहँ हाल्दिनँ । एकपल्टमा केवल एउटा किताब । ध्यान एकत्रित गर्न सकिएन भने भताभुंग हुन्छ ।
लेखिरहेको चरणमा तपाईं कस्ता खालका किताब पढ्न मन पराउनुहुन्छ ?
अरूले लेखेका बायोग्राफी, इतिहास पढ्छु । कहिलेकाहीं तिनले मलाई नयाँ तरिकाले उत्प्रेरित पनि गर्छन् । म उपन्यासचाहिं खासै पढ्दिनँ (हाँसो) ।
कुनै पात्रमा लामो समय काम गरेपछि कहिलेकाहीं यो पार लाग्दैन भन्ने अनुभूति आउँदैन ? लेख्न छाडिदिऊँ र नयाँ प्रोजेक्टमा हात हालुँ भन्ने लाग्दैन ?
त्यस्तो लाग्दैन । मैले काम गर्छु भनेर थालेपछि त्यसमा समय दिएरै काम गर्छु । मैले कुनै पनि पात्रलाई बीचैमा छाडेको छैन । रिसर्चमै धेरै समय गइसकेको हुन्छ । त्यसले झन् जिज्ञासु र मोहित पार्दै लैजान्छ ।
अब कतिवटा किताब लेख्न भ्याउनुहोला, वा सक्नुहोला ?
म त बुढो भइसकें । अहिले ७२ मा हिंड्दैछु । रोय कोनबारे नयाँ किताब लेख्दैछु । अझै तीन वर्षजति लाग्ला । भनिन्छ– वैज्ञानिक र गणितज्ञहरू ३० को उमेरमा बढी काम गर्न सक्छन् भनिन्छ । इतिहासकारहरू चाहिं उमेरसँगै झन् राम्रा हुँदै जान्छन् भन्ने गरिन्छ (हाँसो) । तैपनि मभित्र अझै केही किताब लेख्ने सम्भावना छ जस्तो लाग्छ ।
कुनै बेला दक्षिणएशियाका पात्रहरूबारे पनि हात हाल्नुहोला ? किनभने तपाईं भारत, नेपाल लगायत ठाउँमा पनि बसिसक्नुभयो !
खै, त्यसका लागि म सही व्यक्ति हुँ जस्तो लाग्दैन । मलाई यहाँ बस्न सधैं राम्रो लाग्यो । फेरि बेलाबखत आउन पनि राम्रो लाग्छ । तर म नेपाली, हिन्दी भाषाहरू बुझ्दिनँ । सम्बन्धित भाषा नै नबुझी किताबमा हात हाल्छु भन्नु मेरा लागि एरोगेन्स हो । त्यो काम त तपाईंहरूले गर्नुपर्छ ।
नेपाली जीवनीकारहरूलाई केही सुझाव छ ?
इतिहास र मान्छेको खास कन्डिसनलाई बुझ्न बायोग्राफी असाध्यै महत्वपूर्ण विधा हो । सधैं राजनीति वा ठूला भनिएका विषयमा लेख्नुपर्दैन । संस्कृति, समाजका बारेमा अझै धेरै लेखियोस्, पढियोस् पनि । तर तपाईंहरू लेखाइएका जीवनीतिर नलाग्नुहोस् । आफैं स्वतन्त्र ढंगले बायोग्राफी लेख्नतिर लाग्नुहोस् । नेता, व्यापारी वा अरू स्रोत–साधन, पहुँच भएका व्यक्तिले आफ्नो बारेमा किताब लेखाउँदा त्यो बायोग्राफी हुँदैन । हामीले आम पाठक र इतिहासको बीचमा पुल बन्ने हो ।
इन्डेक्स, रेफरेन्स, फुटर राख्ने बारेमा के भनाइ छ ?
इन्डेक्स भए सधैं राम्रो हो । रेफरेन्स र फुटर त अनिवार्य नै भइहाल्यो । पाठक र बायोग्राफरका रूपमा विश्वासको सम्बन्ध बनाउनका लागि पनि यो चाहिन्छ । प्रमाण नै राखिदिएपछि कसैले कुनै पनि खालको चुनौती दिए पनि फरक पर्दैन ।
एकातिर जीवन्त कथा भन्ने चुनौती, अर्कातिर अभिलेख र रेकर्डहरू पनि राख्नुपर्ने । गाह्रो काम एकैसाथ सन्तुलन मिलाउनुपर्ने है ?
१९७३ मा पहिलोचोटि नेपाल आउँदा यहाँको रंगीन समाज देखेर चकित परेको थिएँ । पश्चिमाहरूका लागि नेपाल एकदमै अनौठो खालको ठाउँ लाग्छ । खाना, बास्ना, संगीत, भाषा, बोल्ने तरिका– हरेक दिनको एडभेन्चर जस्तो लाग्छ ।
प्रमाण जुटाउनैपर्यो । त्यसमा कुनै छुट छैन । तर नीरस ढंगले लेखेर पनि भएन । अभिलेख पढ्न थाल्दा नै लेखन शैलीको बारेमा सोच आउन थाल्नुपर्छ ।
तपाईं कत्तिको छिटो वा ढिलो लेख्नुहुन्छ ?
हरेक दिन लेख्छु । तर दिनमा ३५० शब्दभन्दा बढ्ता लेख्न सक्दिनँ ।
किताबको नाम सुरुमै जुराउनुहुन्छ कि लेखिसकेपछि राख्नुहुन्छ ?
यसो काम चलाउनका लागि वर्किङ टाइटल सुरुमै जुराउँछु । तर किताब लेखिसकेपछि नाम जहिले पनि फेरिएकै छ । जस्तो कि ओपनहाइमरको उपनाम ओपी भएकाले मैले सुरुमा ओपी नाम राखेर काम थालेको थिएँ । पछि श्रीमतीले पनि मन पराइनन् । प्रकाशकले पनि मन पराएनन् । सम्पादकले पनि मन पराएनन् । झन् मार्केटिङको मान्छेले त केसम्म भन्यो भने यस्तो बेकारको टाइटल राखेर म तिम्रो किताब बेच्न सक्दिनँ । केही ड्यासिङ नाम सोच । यसरी निकटमा भएका सबैले किताबमा भिटो लगाउँछन् । कहिलेकाहीं त समय नै तोकेर दुई साताभित्र नयाँ नाम ल्याइहाल पनि भन्छन् ।
यत्रो मिहिनेत गरेर लेख्नुहुँदोरहेछ । मान्छेहरू चाहिं हिजोआज किताब बिक्न छाड्यो भन्छन् त ?
टफ बिजनेस त हो, पुस्तक प्रकाशन । कागज, मसी र प्रिन्टिङ कस्ट सबै बढेको छ । तर उता पश्चिमा मुलुकतिर चाहिं कोभिडका बेला सबैजसो प्रकाशकले टन्न कमाए । लेखकलाई मात्रै दिएर भएन, सम्पादक, अरूलाई पनि दिनुपर्यो । छाप्नेदेखि पठाउनेसम्म खर्चै खर्च हुन्छ । सजिलो त छैन । तर किताब जेसुकै अवस्थामा पनि पढिनुपर्छ । यसले कल्चर हस्तान्तरण गर्छ । म पनि मान्छु– अहिले मोबाइल ग्याजेट आदिले मान्छेको ध्यान एकत्रित गर्ने क्षमतामा निकै ठूलो ह्रास ल्याइरहेको छ । यसले किताबको बिक्रीमा पनि प्रभाव पारेको होला ।
अन्तिममा नेपाल सम्बन्धी तपाईंको अनुभव ?
काठमाडौंको स्युचाटारमा म चार वर्ष बसें । १९७३ मा पहिलोचोटि नेपाल आउँदा यहाँको रंगीन समाज देखेर चकित परेको थिएँ । पश्चिमाहरूका लागि नेपाल एकदमै अनौठो खालको ठाउँ लाग्छ । खाना, बास्ना, संगीत, भाषा, बोल्ने तरिका– हरेक दिनको एडभेन्चर जस्तो लाग्छ । म त्यसपछि पनि पटक–पटक आएँ । यो कहिलेकाहीं मेरा लागि दोस्रो घर पो हो कि जस्तो पनि लाग्छ । किनभने म यहाँ आउँदा आफूलाई समाज र प्रकृतिसँग घुलमिल भइसकेको मानिस जस्तो पाउँछु ।