यसरी विकास हुन्छ केटाकेटीको आनीबानी र स्वभाव
एक बालिकालाई उनका पिताले खेलौना चिम्पान्जी जन्मदिनमा दिन्छन्। त्यस उपहारले ती बालिकाको प्रकृतिको अध्ययन गर्ने स्वभावको आरम्भ गर्छ।
जेन गोडालले पाएको त्यो जुबिली नाम गरेको खेलौना चिम्पान्जी उनको प्रेरणाको श्रोत बन्छ। जेन गोडालले आफ्नो जीवन तान्जानियामा यही प्राणीको खोज र अनुसन्धानमा लगाउँछिन्। उनको अध्ययन प्राणीको स्वभाव, प्रकृतिको संरक्षण सबैका लागि अध्ययन र प्रेरणा बन्छ। जेन गोडालको प्राणीशास्त्र र इकोलोजीमा अतुलनीय योगदान छ।
त्यो उपहार दिइएको घटना सामान्यजस्तो लाग्छ तर यसैले उनको स्वभाव निर्माणमा उत्प्रेरणा ल्याउँछ।
बालबालिकामा स्वभाव कसरी विकास हुन्छ भन्ने प्रक्रियाको यो एक उदाहरण मात्र हो।
स्वभावको विकासको आधार के होला र कसो गर्दा वाञ्छित गुणहरू विकास होलान् भन्ने कुरा यहाँ संक्षेपमा राख्छु।
यसका साथै अन्त्यमा स्वभावका कठिनाइहरूमा पनि थोरै प्रकाश पार्नेछु। आशा छ, यसमा भएका तथ्यहरूले व्यावहारिक अन्तरदृष्टि दिनेछन्।
ब्रिटिस जर्नलमा प्रकाशित फिलिपा लेलीको अनुसन्धानले केटाकेटीमा स्वभावको विकास हुनुमा अभिभावकहरूको बानीको प्रभाव गहिरो हुने देखाउँछ।
उनी भन्छिन्, ‘शिक्षक, अभिभावक वा निकट संरक्षकका दोहोरिएर देखिने स्वभावलाई बालबालिकाहरूले नक्कल गरी आफ्नो बानीमा परिणत गर्छन्।’
शिक्षक र अभिभावकहरूको स्वभावलाई विद्यार्थीहरूले परावर्तन गर्छन्। यसलाई शिक्षामा स्वभावको नमूनाकरण (बेहेभियरल मोडलिङ) भनिन्छ। यसबाट के पुष्टि हुन्छ भने केटाकेटीको बानीको पहिलो आधार वयस्कले खडा गर्छन्।
उदाहरणका लागि, बालबालिकाको पठन स्वभावलाई लिऔं। अभिभावकहरूको पठन स्वभाव छ, पुस्तक सस्वर पढिदिन्छन् भने बालबालिकामा पनि पठन संस्कृति क्रमशः विकास हुँदै आउने अध्ययनहरूले देखाएका छन्।
विद्यार्थीका आनिबानीबाट पनि तिनका अभिभावकको स्वभावलाई कुनै हदसम्म प्रक्षेपण गर्न सकिने अध्ययनले देखाउँछ। उदाहरणका लागि, परिवारले सामाजिक-आर्थिक दबाबमा गर्ने व्यवहारले बालबालिकाले बानी, रहनसहनमा अभावको असर प्रस्ट देखाउँछन्।
यसरी केटाकेटीको र घरका सदस्यहरूको स्वभावमा समानुपातिक सम्बन्ध कायम हुन्छ।
अभिभावकत्वको अभ्यासले बालबालिकाका स्वभाव विकासमा प्रत्यक्ष प्रभाव पार्छ। यसलाई बुझ्न एउटा उपमा प्रस्तुत गर्छु — घरपरिवारलाई बगैंचाजस्तो मानौं र अभिभावकहरूलाई माली सम्झौं। केटाकेटीलाई फूलबिरूवाहरू मानौं। अभिभावकले दिने उर्वरतालाई पोषण, सिँचाइलाई भावनात्मक टेको, घामलाई अभिभावकको स्वभावको नमूना, गोडमेललाई के गर्ने, के नगर्नेको सिमाना, बगैंचामा हुने थरीथरीका पक्षलाई बाह्य वातावरणको ज्ञान, काँटछाँटलाई बालबालिकालाई दिइने उत्तरदायित्वको शिक्षा र हुरी-बतासलाई उनीहरूमा हुने लचिलोपनका रूपमा लिऔं।
यस उपमानका ती तत्वहरूले बालबालिकको स्वभाव विकासको समग्रता इंकित गर्छ। उल्लिखित पक्षहरूको सन्तुलनले स्वभावका वाञ्छित गुणहरूलाई बल दिन्छ। अभिभावकले प्रयोग गरेका शक्तिअभ्यास वा वास्ता नगर्ने बानी, कठोरता वा अत्यधिक उदारता, ज्यादै रक्षात्मक र पुल्पुल्याउने प्रवृत्ति केटाकेटीको स्वभावमा सोहीअनुसार प्रतिबिम्वित हुन्छ।
यसर्थ, बालबालिकाको स्वभाव निर्माणको पहिलो र मुख्य आधार घर हो। यहाँ उनीहरूले जीवनभर रहने संस्कारको विकास गर्छन्। घर-परिवारको समग्र वातावरणले, घरका वयस्कसँग गरिने अन्तरक्रियाले उनीहरूको सोचाइलाई आकार दिन्छ। यसपछि मात्र अन्य पक्षहरू आउँछन्।
बालबालिकाको स्वभाव निर्माणमा दोस्रो प्रमुख भूमिका विद्यालयको रहन्छ।
स्कुललाई चरित्र निर्माणको थलो भनेर पनि बुझिन्छ। सरल भाषामा चरित्र परिचालित स्वभावहरूको एक समूह हो। विद्यालय ती वाञ्छित स्वभावका समूह विद्यार्थीमा स्थापित गर्ने संस्थागत संरचना पनि हो। एक असल स्कुलमा विद्यार्थीहरूले अध्ययनशीलता, लचिलोपन, मानवमूल्यजस्ता स्वभावको विकास गर्ने मौका पाउँछन्।
यहाँ उल्लेख्य बुझ्नुपर्ने बुँदा के छ भने — कथम कदाचित घर असल स्वभावको बिजारोपण गर्न असफल भएमा खोजिएको जस्तो चरित्र निर्माण विद्यालयमा मात्र पूर्ण सम्भव नहुने अध्ययनले देखाउँछन्।
तसर्थ, केटाकेटीको स्वभाव निर्माण घर र विद्यालयको अन्योन्याश्रित सहकार्य हो। किनभने, स्वभावको बिजारोपण साधारणतयाः घरबाट हुन्छ भने यिनको सहज विकासमा विद्यालय सहयोगी हुन्छ।
स्कुलको सही शैक्षिक प्रणालीले विद्यार्थीहरूको समग्र विकास गर्छ। यहाँ शैक्षिक प्रणाली भन्नाले संज्ञानात्मक उन्नयनसँग भावनात्मक, सामाजिक र उन्नत सोचाइहरूलाई पनि शिक्षणभित्र राखिनु हो। यी विद्यालयले परिभाषित गरेका पार्श्वचित्र, विद्यालय नेतृत्वका मनोवृत्ति र त्यहाँका स्थापित सांस्कृतिक मूल्यहरू हुन् जसले विद्यार्थीलाई मार्गदर्शन गर्छ।
उल्लेख्य कुरा के छ भने — उपरोक्त तत्वहरूले विद्यार्थीलाई शिक्षित गर्छन् वा विद्यार्थीका मनोवृत्ति विकास गर्छन्। बौद्धिक विकासलाई मात्र केन्द्रमा राखेर मनोवृत्तिलाई पाखा लगाएमा शिक्षा अपूर्ण बन्छ।
यो तथ्यलाई अझै फरक ढंगले बुझौं।
उदाहरणका लागि, कक्षामा उच्च उपलब्धि हासिल गर्ने विद्यार्थीले अन्यभन्दा थप परिपक्वता र जिम्मेवारी वहन गरेको पाइन्छ। उनीहरू गृहकार्यदेखि अन्य पक्षहरूमा पनि सन्तुलित हुन्छन्। यदि स्कुलले ती बाहेकका विद्यार्थीहरूलाई पनि परिपक्व र उत्तरदायी बनाउन सकेमा ती अन्य विद्यार्थीले पनि उच्च उपलब्धि हासिल गर्न सक्छन्।
तसर्थ, विद्यालयले विषय शिक्षणभन्दा पहिले उनीहरूमा ज्ञान आर्जन गर्न आवश्यक स्वभावको वा मनोवृत्तिको विकास गर्नु अपरिहार्य हुन्छ। यसभित्र शिक्षा सफलताको मूल रहन्छ। यसलाई शिक्षामा मनोवृत्तिको वा स्वभावको आधार भनिन्छ। विद्यालय शिक्षाले वाञ्छित विचारधाराको जग खडा गरेमा मात्र शिक्षा सफल हुने शिक्षाविदहरू बताउँछन्।
विद्यालयमा प्रमुख तीन तत्व हुन्छन्।
पहिलो, विद्यालयको संस्कृति।
दोस्रो, विद्यार्थीहरूले अन्तरक्रिया गर्ने शिक्षक।
र, तेस्रो, विद्यार्थीका सहपाठी समूह।
यिनले विद्यालयमा बालबालिकाका स्वभावलाई आकार दिन्छन्। यी तत्वहरूले संयुक्त रूपमा चरित्र निर्माणमा गतिशील भूमिका निर्वाह गर्छन्।
धेरै विद्यार्थीले शिक्षकलाई आदर्श व्यक्तिका रूपमा स्वीकार गर्छन् र उनीहरूले गल्ती गर्दैनन् भन्ने विश्वस्त धारणा राख्छन्। शिक्षकहरूले आफ्नो स्वभावको नमूनालाई उच्च राखेमा, समानुभूतिक, लचिलो, इमानदार र धैर्य भएमा विद्यार्थीले त्यसैलाई अनुकरण गर्छन्। विद्यार्थीका यो संवेदनशील विश्वासको सदुपयोग चरित्र निर्माणमा अति सहयोगी हुन्छ।
केटाकेटीका सहपाठी समूहले आफ्ना सामाजिक मूल्य-मान्यता स्थापना गरेका हुन्छन् र तिनको पनि उनीहरूले अनुकरण गर्छन्। यो विद्यार्थीको स्वभाव निर्माणको अति शक्तिशाली कारक तत्व हो। संगत अन्यन्तै संक्रामक हुन्छ। राम्रो संगतले तुरून्त असल स्वभाव निर्माण गर्छ।
यसबाहेक विद्यार्थीहरूले सहपाठी समूहसँग संरेखित हुँदा सामाजिकीकरणको आधार, स्वपहिचान, भावनात्मक समर्थन र बौद्धिक विकासका साथै जीवनको परीक्षण र जोखिम मोल्न सक्ने क्षमता विकास गर्छन्। सहपाठी समूहको प्रभाव पूर्वप्राथमिक तहदेखि नै देखिन्छ र माध्यमिक तहसम्म आइपुग्दा पनि स्वभाव निर्माणमा यो उत्तिकै प्रभावशाली हुने अध्ययनले देखाउँछ।
यी बाहेकका स्वभाव निर्माणका अन्य तत्वहरू पनि छन्।
वंशाणुगत संरचना, विशिष्टता, घटना वा परिवेश र अरू तपसिलका बाह्य तत्वले पनि स्वभाव रचना गर्छन्। न्युरो जैवविज्ञानका आधारले पनि यसको निर्माणमा फरक भूमिका खेल्छ।
बालबालिकाका केही जन्मजात आन्तरिक स्वभाव हुन्छन्।
उदाहरणका लागि, कोही अन्तरमुखी हुन्छन्, कम बोल्छन् वा गम्भीर हुन्छन्। यस्तो प्रवृत्तिलाई अन्यथा लिइनु हुँदैन र उसको स्वभाव ठीक भएन भनेर बाह्य हस्तक्षेप गरेमा परिणाम नकारात्मक हुने अध्ययनले देखाउँछ। यसको अर्थ, उनीहरूलाई हामीजस्तो बनाउने जबरजस्ती प्रयास नगरी उनीहरूलाई उनीहरूकै स्वस्थकर पहिचानको रूपमा स्थापित गर्नु हो, वैधता दिनु हो।
स्वभाव र ज्ञानको निर्माणलाई स्वयं बालबालिकाले मात्रै निर्देशित गर्न सक्छन्, अन्यले होइन। शिक्षा मनोविज्ञानमा यसलाई निर्माणवाद भनिन्छ। हामीले प्रयोग गरेको बाह्य बल सही भएमा सकारात्मक र गलत भएमा नकारात्मक अभिप्रेरणा दिन्छ। तर बुझ्नुपर्ने कुरा के छ भने, बाह्य बलले जगाएको अभिप्रेरणाबाट नै उनीहरूले वास्तवमा आफ्नो स्वभाव आफैं स्थापित गर्छन्। यो बाह्य बलले स्थापन गर्ने होइन तर उनीहरूको आन्तरिक प्रेरणाले हो।
शिक्षामनोविद जाँपियाजे भन्छन्, ‘स्वभाव र विचार गर्ने क्षमताका आधारभूत बनावट निर्माणात्मक समयका अघिल्ला वर्षहरू वा ‘प्रिअपरेसनल’ चरणदेखि नै अविछिन्न चलिरहन्छन्। यिनै चरणहरूलाई अभिप्रेरणा वा नमूनाकरणमार्फत प्रभाव पार्न सकेमा वाञ्छित स्वभाव केटाकेटीमा स्थापित गर्न सकिन्छ।’
केटाकेटीका मनोसामाजिक विकासका चरणका बृहत् अध्ययन गरिएको छ।
एरिक एरिक्सन भन्छन्, ‘विश्वासले विश्वास र संशयले संशय सिकाउँछ। त्यस्तै प्रेमले सद्भाव सिकाउँछ भने हिंसाले उग्रतालाई मलजल गर्छ।’
बालबालिकाका स्वभाव निर्माणमा र व्यवस्थापनमा कठिनाइ आउन सक्छन्।
एक्कासि हुने घटनाहरूले पनि स्वभावमा धक्का दिन्छन्। अभिभावकको अकस्मात मृत्यु, पारपाचुके (डिभोर्स) वा शारीरिक वा मानसिक घरेलु हिंसा, दीर्घकालीन अपहेलनाले बालबालिकालाई घात (ट्रमाटाइज) गर्छ र स्वभावको दिशा बदल्न सक्छ। यस्ता चोटहरूको व्यवस्थापन नहुँदा उनीहरूमा विषादको विकास हुने अध्ययनले देखाउँछ। यस्तो अवस्थामा केटाकेटीहरूले आफूलाई खतरामा पार्नसम्म सक्छन्।
शिक्षक, विद्यालय र अभिभावकहरूले बुझ्नुपर्ने अर्को महत्वपूर्ण तथ्य पनि छ।
कुनै बच्चाको स्वभाव असामान्य तरिकाले छुकछुके छ भने त्यो हर्मोनल गडबडीले पनि हुन सक्छ। अटिजम भएका बालबालिकाले असामान्य तरिकाले एउटै कुरामा रट लगाइरहन्छन्। ‘लर्निङ डिसएबलिटी’ भएकाहरूले शैक्षिक क्रियाकलापलाई समन्वय गर्न सक्दैनन्।
हामीले केटाकेटीको स्वभावलाई बाहिरबाट गर्ने परिभाषा र उनीहरूको आन्तरिक समस्या फरक भएमा यस्ता कठिनाइ अझै जटिल हुने अध्ययनले देखाउँछन्।
समयमै पहिचान भएमा स्वभाव कठिनाइका लक्षण सही तरिकाले व्यवस्थापन हुन सक्छन् र अप्रिय अवस्था सहजै रोकथाम गर्न सकिन्छ।
केटाकेटीको स्वभाव विकासका लागि पहिलो घर, दोस्रो विद्यालय र तेस्रो बालबालिका आफैंमा उत्तरदायी हुन्छन्।
बालबालिकाले आफ्नो स्वभाव आफैं निर्देशित गर्छन्, आफैं निर्माण गर्छन् र आफैं परिमार्जन गर्ने क्षमता राख्छन् भन्ने तथ्यलाई आधार मानेर बाह्य दबाबको ठाउँमा हामीले मार्गनिर्देशन र उपयुक्त अभिप्रेरणा दिएमा हाम्रा विद्यार्थी सुसंस्कारी, सक्षम र असल स्वभावका बन्छन्।
(लेखक प्रविज्ञ रेग्मी न्यु मिलेनियम स्कुल इमाडोल, ललितपुरका संस्थापक प्रिन्सिपल हुन्)