सामाजिक बन्देज तोड्दै डान्स फ्लोर हल्लाउने इरानी डिजे
२५ फागुन, काठमाडौं । मिश्रित लैंगिक गतिविधि इरानमा प्रतिबन्धित छन् । प्रशासन र प्रहरीका आँखामा महिला र पुरुष जम्मा भएर नाच्नु मात्र होइन, महिलाले सामाजिक बन्देज तोडेर अपनाएका पेशा गैरकानुनी र अनैतिक हुन् ।
यद्पि यस्ता समाजिक बन्देज र सांस्कृतिक सीमालाई चुनौती दिँदै इरानी महिलाहरु अघि बढिरहेका छन् । महिलाहरुका निम्ति कठोर इरानका डान्स फ्लोर हल्लाइरहेछन् महिला डिजेहरु ।
सन् १९७९ को सांस्कृतिक क्रान्तिले इरानको सांस्कृतिक जीवनमा हलचल ल्यायो । पप र गैर क्रान्तिकारी गीत संगित त्यहाँ प्रतिबन्धित थियो । महिलाहरुलाई गीत गाउन प्रतिबन्धित गरियो । महिलाले गाउनु भनेको पाप हो भन्ने सामाजिक परम्पराको विकास भयो ।
सफलताउन्मूख पप र मनोरञ्जनात्मक दुनियाँमा रातारात सन्नटा छाउँदा समेत बन्द कोटाभित्र त्यस्ता गतिविधि कितिपयले जारिनै राखे । प्रतिबन्धित सांगितिक क्यासेटहरु तस्करी गरेर घरसम्म पुर्यायो । पारिवारिक जमघटमा मानिसहरुले घरको लिभिङ रुमलाई डान्स फ्लोर बनाउन थाले । आफ्नो कलाले बर्लिनमा धमाका मच्चाइरहेकी डिजे परमिदा त्यस क्षणको स्मरण गर्दै बीबीसीसँग भनेकी छिन्, ‘पारिवारिक जमघटहरुमा म नृत्य गर्थेँ । मानिसहरुलाई नाच्न हौँस्याउँथे ।’
परमिदा क्लब जान निकै मनपराउँथिन् । स्कुले जीवकालमा निकैपटक लुकीलुकी क्लब समेत पुग्थिन् । आफ्नी छोरीको रहर बुझेर उनकी आमाले उनलाई इरानमा राख्न चाहिनन् । हिजाब लाउन परमिदालाई मनपर्दैनथ्यो । ‘महिलाहरुलाई निकै निकृष्ट व्यवहार हुने भएकाले आमाले मलाई त्यहाँ सुरक्षित ठान्नुभएको थिएन,’ उनी भन्छिन् ।
केही समय जर्मनी आएर बसे पनि सन् २००२ मा परमिदा पारिवारिक कारणले इराननै फर्किनुपर्यो । चार वर्ष उनी तेहरान स्कुलमा पढिन् । स्कुले जीवनकालका भूमिगत पार्टी सम्झिँदै उनी भन्छिन्, ‘केटाहरु छुट्टै र हामी केटीहरु छुट्टै कारमा जान्थ्यौँ र भूमिगत रुपमा पार्टी गर्थ्यौँ ।’
सन् १९९० को दशकको अन्त्य तिर इरानमा छुट्टै पार्टी संस्कृतिको विकास भयो । स्याटलाइट च्यानल एमटिभीमा आउने म्युजिकको तालमा भूमिगत पार्टी चल्थ्यो । तेहरानकी ४० वर्षीय डिजे नेसा अजादिखा भन्छिन्, ‘पहिलोपटक पार्टीमा जाँदा डिजेले संगीत बजाएको देखेँ । त्यसपछि मलाई त्यो पेशमा आकर्षण भयो ।’
केही वर्षपछि नेसा स्वयम् भूमिगत पार्टीहरुमा आफैँ डिजे बनिन्। विस्तारै घरमा हुने पार्टीहरुमा उनलाई बोलाउन थालियो । तेहरानमा उनी अग्रणी डिजेका रुपमा परिचित भइन् । सुरु सुरुमा सेमसक गाउँमा मात्रै पार्टी हुन्थ्यो । विस्तारै तेहरानमा पार्टी गर्नु अपराध हुन थाल्यो । भूमिगत रुपमा हुने पार्टीहरुमा मदिरा सेवन गरेको र यौन क्रियाकलाप गरेको भन्दै मानिसहरु गिरफ्तार हुन थाले । गत नोभेम्बरमा ३०० जना गिरफ्तारमा परेका थिए । गत मार्चमा मात्रै पार्टीको आरोपमा विश्वविद्यालयका ११ विद्यार्थीहरु गिरफ्तारमा परेका थिए । गिरफ्तारको त्रासदीबीच आफूले पेशा नछोडेको नेसा बताउँछिन् । ‘मलाई मेरो परिवारले सधै सतर्क बनाइरह्यो र गिरफ्तारीको त्रास देखाइरह्यो तर मैले मेरो पेशा छोडिँन,’ उनले भनिन् ।
हालसम्म परमिदा र नेसा दुबैजना गिरफ्तारमा परेका छैनन् । आफूहरुलाई आफ्नो गिरफ्तारको भन्दा पनि तर तेहरानको संगीत ध्वस्त हुन लागेकोप्रति आफूहरु चिन्तित रहेको उनीहरु बताउँछन् । आफूहरु महिला मुक्तिको लागि संगीतको माध्यबाट लागि रहने परमिदा बताउँछिन् । ‘मासा अमिनिको हत्यापछि हामीले स्वतन्त्रताको पक्षमा संगीतलाई माध्यम बनाउने प्रण हामीले लिएका छौँ । सन् २०२२ को आन्दोलनमा पनि हामीले संगीतलाई माध्यम बनायौँ,’ उनले भनेकी छिन् ।
नेसाले महिला डिजेहरुसँग मिलेर महलाहरुको स्वतन्त्र जीवनका लागि बनेका संगीतहरु संकलन गरिरहेका छौँ । तेहरानमा भूमिगत रुपमै उनले संगीत उत्पादन गरिरहेकी छिन् । ‘हाम्रा रहरु सामाजिक मुल्य र मान्यता कारण प्रतिबन्धित थिए । जब हामीले हाम्रा रहर अनुसार काम गर्न थाल्यौँ त्यसलाई नियम उल्लंघन भनियो । हाम्रा रहरुहरु पुरा गर्नका निम्ति हामीले सिर्जनात्मक रुपमा सशक्ति अभियान चलाउनुपरेको छ,’ परमिदा भन्छिन् ।
विश्वको नृत्य-संगीत उद्योग उसै पनि पुरुष प्रधान थियो । परमिदा र नेसा आएपछि समेत त्यस उद्योगमा लैंगिकता हाबीनै थियो । ‘यो उद्योगमा लैगिकभेद अझै पनि छ तर पहिलेको भन्दा अलिकित फरक छ,’ नेसा भन्छिन् ।
इरानकी पहिलो महिला डिजे नेसाका अनुसार अहिले इरानमा १० जना महिला डिजे छन् । आफ्नो सुरुवातीकाल सम्झिँदै परमिदा भन्छिन्, ‘मेरो यस उमेरभर मलाई यो काम गर्न निरुत्साहित गरियो तर मैले आफूलाई प्रमाणित गरेर छोडेँ ।’
२५ वर्षको उमेरमा आफू भूमिगत पार्टीको सबैभन्दा बढी माग हुने डिजेमा परेको परमिदा बताउँछिन् । उनी अहिले जर्मनीको बर्घाइनको प्रख्यात क्लब प्यानारोमा बारकी प्रमुख डिजे हुन् । युरोपभर धमाका पिट्ने उनको धोको छ । बर्घाइन जानुअघि इरानी कलाकार भएकै कारण उनको प्रवेशाज्ञा निवेदन बारम्बार अस्वीकृत भएको थियो । ‘सन् २०१७ मा मलाई पहिलोपटक अरमेनियामा बोलाइयो । त्यहाँ मेरो कलाको निकै प्रशंसा भयो,’ उनी भन्छिन् ।
अहिले उनले फ्रान्सको स्थायी बसोबासको अनुमति पाएकी छिन् । ग्लोबल ट्यालेन्ट भिसाबाट उनी छानिएकी हुन् । ‘यो पेशमा निकै प्रतिस्पर्धा छ । मैले अझै काम गर्नुपर्नेछ । अब लिभरपुलमा धमाका पिट्ने धोको छ, ‘इरानमा महिला मुक्तिको आन्दोलन सशक्त बनाउँदै भूमिगत नभएर खुला पार्टी गर्ने वातावरण बनाउने अभियान अझै सशक्त बनाउनु त छँदैछ,’ उनले भनिन् ।