नेपालसहित दक्षिण एशियामा किन बढिरहेको छ सर्पदंश ?
२० फागुन । दक्षिण एशियाली मुलुक नेपाल, भारत पाकिस्तान र श्रीलंकामा विषालु शर्प व्यापक छ । आगामी वर्षहरुमा विषालु सर्पको टोकाइ यी मुलुकहरुमा अझै बढ्ने श्रीलंकामा भएको एक अध्ययनले देखाएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर हरेक वर्ष ५ करोड ४० लाख मानिसहरुलाई सर्पले डस्छ । त्यसमध्ये १ लाख मानिसहरुको मृत्यु हुने गरेको छ ।
विश्वमा सर्पले टोकेर हुने मृत्युको ७० प्रतिशत संख्या दक्षिण एशियाको रहेको छ । भारतमा मात्रै हरेक वर्ष १० लाख मानिसलाई सर्पले टोक्ने र ती मध्ये ५८ हजार जनाको मृत्यु हुने गरेको छ । सन् २०१८ देखि श्रीलंकाको केलन्या विश्वविद्यालयले थालेको अध्ययनले जलवायु परिवर्तनका कारण दक्षिण एशियाली मुलुकमा सर्पदंशका घटना बढ्ने निष्कर्ष निकालेको छ ।
विश्व स्वास्थ्य संगठनले गत वर्ष दक्षिण एशियामा सर्पदंश न्युनीकरणका निम्ति थप सक्रिय हुने योजना अघि सारेको थियो । जसमा भनिएको थियो, ‘विषालु सर्पहरुका निम्ति जैविक विविधताको हटस्पस्ट र ठूलो कृषक समुदायको बसोबास रहेको दक्षिण एशियामा सर्पदंशबाट जोगाउन विशेष कार्ययोजना अनुसार काम गर्नुपर्नेछ ।’
दक्षिण एसियामा कहाँ बढी ?
दक्षिण एशियामा सर्पदंशका तथ्यांक व्यवस्थित भने छैन । विश्व स्वास्थ्य संगठनले पनि सन् २०१७ देखि सर्पदंशलाई सूचीकृत गर्न थालेको हो । पाकिस्तानमा ४० हजार सर्पदंशको घटना भएकोमा आठ हजार २०० जनाको ज्यान गएको तथ्यांक विश्व स्वास्थ्य संगठनको छ । यस्तै, नेपालमा पनि आधिकारिक तथ्यांक नभएपनि चिकित्सकहरुले दिएको विवरण अनुसार प्रत्येक वर्ष ४० हजार मानिस सर्पदंशको शिकार हुने र तीमध्ये ३ हजारको मृत्यु हुने गर्छ ।
यता श्रीलंकामा प्रत्येक वर्ष ३३ हजार हाराहारी मानिसलाई सर्पले टोक्ने र ती मध्ये ४ सय जनाको ज्यान जाने गरेको छ । हावर्ड सम्बद्ध म्यासाचुसेट्स अस्पतालका चिकित्सक रमह मेमोन भन्छन्, ‘दक्षिण एशियामा सर्पदंशका घटनाका विवरण खासै औपचारिक जानकारीमा नआउने भएकाले यकिन तथ्यांक निकाल्नै मुश्किल छ ।’
यता, केलन्या विश्वविद्यालयको अध्ययनले जलवायु परिवर्तनका कारण दक्षिण एशियाली मुलुकहरुमा सर्पदंशका घटना ३१ प्रतिशतले बढ्न सक्ने देखाएको छ ।
दक्षिण एशियाको साझा सर्प करेत
दक्षिण एशियाली मुलुकहरु भारत, पाकिस्तान श्रीलंका र नेपालमा पाइने साझा सर्प भनेको करेत हो । त्यसपछिको अर्को भनेकव गोमन हो । करेत, गोमन र अन्य विषालु सर्पले डस्दा मानिसहरु प्राणघातक रोगको शिकार हुने गरेका छन् । विश्वभर सर्पले डसेका ५ करोड ४० लाख मानिसमध्ये करिब २ करोड ७० लाख मानिसमा यस्तो रोग देखापरेको छ ।
सर्पदंशका विज्ञ भारतीय चिकित्सक सदानन्द राउतले अलजजिरासँग भनेका छन्, ‘सर्पले डसेको दुईदेखि तीन घण्टाभित्रको समयमै उपचार नपाएको खण्डमा मानिसहरुको ज्याननै जान्छ । सर्पको विष फरक फरक प्रकृतिको हुने भएकाले त्यसका असर पनि भिन्न भिन्न हुन्छ । अधिकांश विषले भने पक्षघात जस्तो असर देखाउँछ ।’
सर्पको विषले सिधै स्नायु प्रणालीमा असर पुर्याउने उनी बताउँछन् । करेत सर्पले डसेको चारदेखि ६ घण्टामा पक्षघातको असर देखापर्ने उनले बताएका छन् । करेतको टोकाइले सुरुमै कुनै असर नदेखाउने भए पनि पनि विस्तारै आँखा र मुटुमा असर गर्न थाल्ने उनी बताउँछन् । केही सर्पको विषले सुरुमै मिर्गौलामा असर पुर्याउने उनको भनाइ छ । कतिपय विषले रगत पातलो बनाउने र शरीरका कोष मार्ने उनी बताउँछन् ।
करेत सर्पले टोक्दा निकै लठ्ठिएको अनुभव सर्लाही जिल्लास्थित सागरनाथका कविराज खरेलको अनुभव छ । खेतमा काम गर्ने क्रममा उनलाइ करेत सर्पले डसेको थियो । आफ्नो अनुभवबारे उनले भनेका छन्, ‘आँखा र जिब्रो विस्तारै लठ्ठिदै गयो । मर्छुझैँ भएको थियो । अस्पताल पुग्दा म बेहोस् थिएँ ।’
जिंगासु डोलिया भारतीय जीववैज्ञानिक हुन् । उत्तराखण्डमा क्रियाशील उनी सर्पको संरक्षणमा समेत सक्रिय छन् । उनका अनुसार एन्टिभेनम सर्पकै विष निकालेर तयार गरिन्छ । त्यसलाई प्रशोधन गरेर तयार गरिन्छ । तर एन्टिभेनमबारे मानिसहरुमा सचेतना नरहेको उनी बताउँछन् ।
सर्पले टोक्दासमेत झारफुकमा जाने गरेकाले धेरैको ज्यान जोखिममा परेको उनको भनाइ छ । दक्षिण एशियामा सर्पदंशको घटना बढ्ने देखिएकाले एन्टिभेनम उत्पादनमा ध्यान केन्द्रित हुनैपर्ने डोलियाको सुझाव छ ।
‘एन्टिभेनम निकै महंगो छ । यसलाई सर्वसुलभ बनाउन दक्षिण एशियाली मुलुक क्रियाशील हुनैपर्छ । जलवायु परिवर्तनको असरले समस्या बढ्ने देखिएपछि समाधानका निम्ति तयार हुनैपर्छ’, उनले भने ।
जलवायु परिवर्तनले सर्पदंश कसरी बढिरहेको छ ?
दक्षिण एशियाली मुलुकमा सर्पदंश बढ्नुमा जलवायु परिवर्तन कारक रहेको इर्मोरी विश्विविद्यालयको अध्ययनले देखाएको छ । तापक्रम जति वृद्धि हुँदै जान्छ उति नै सर्पदंशका घटना बढ्ने त्यस अध्ययनको निष्कर्ष छ । विभिन्न प्रकृतिका सर्पका लागि भिन्न वातावरण हुने भएकाले बढ्दो तापक्रम उनीहरुका लागि समेत अनुपयुक्त हुने त्यस अध्ययनमा भनिएको छ ।
बढ्दो तापक्रमका कारण वातावरण सुख्खा हुँदा सर्पहरु थप चलायमान हुने सर्प संरक्षणमा क्रियाशील माइकल स्टार्कीको भनाइ छ । सर्पहरु उपयुक्त बासस्थान खोज्न हिँडिरहने भएकाले मानिसहरुमा सर्पदंशको जोखिम बढेको उनको भनाइ छ ।
यस्तै, सर्पका बासस्थान वरपर मानिसहरुले अतिक्रमण गरेका कारणले पनि सर्पदंश बढिरहेको हो । कुनै कुनै सर्प परिवर्तित वातावरणमा पनि घुलमिल भएको पाइएको छन् भने परिवर्तित जलवायुका कारण कतिपय सर्प लोप हुन पनि थालेका छन् ।
सन् २००२ मा पाकिस्तानमा भीषण बाढी आउँदा मानिसहरु पालमा बसेका थिए । उपयुक्त बासको प्रबन्ध नभएका कारण पालमा बस्न विवश बालबालिकाहरु ठूलै संख्यामा सर्पदंशको शिकार भएका थिए । जमेको पानीमा विशालु सर्प आकर्षित हुने भएकाले धेरै बालबालिका सर्पदंशको शिकार भएका थिए । जलवायु परिवर्तनका कारण सर्पहरुसमेत बसाइँ सरेको संरक्षणकर्मी स्टार्की बताउँछन् ।
‘मान्नुस वा नमान्नुस् । जसरी हामी जलवायु परिवर्तनका कारण तनावमा छौं सर्पहरु पनि तनावमा छन् । उनीहरुमा पनि चिढ्चिढापन छ त्यसैले सर्पदंशका घटना बढिरहेका छन् ।’